कञ्चनपुरमा एक सयभन्दा बढी घरमा पानी पस्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कञ्चनपुरमा एक सयभन्दा बढी घरमा पानी पस्यो


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दोदा नदीको सतह बढ्दा पुनर्वास नगरपालिका-५ सिम्रीस्थित राना बस्तीका ६० घरमा पानी पसेको बताए । उनका अनुसार वर्षाकै कारण कृष्णपुर नगरपालिका-७ शान्तिपुर टोलमा मोहना नदीको पानी पस्दा ५० घरमा पसेको बताए । कञ्चनपुरको चुरे क्षेत्रमा सोमबारदेखि भएको वर्षाका कारण यहाँका खोलानाला र नदीमा जल स्तर बढेको हो ।

“घरभित्र पानी पसेपनि डुबान नै भएर विस्थापित हुनुपर्ने स्थिति छैन”, प्रवक्ता डाँगीले भने, “पानी पसेको क्षेत्रमा सुरक्षाकर्मीको टोली पनि खटिएका छन् ।” सुरक्षा निकायले यहाँको शुक्लाफाँटा नगरपालिका-७ कालापानीस्थित स्याली नदीमा फसेका दुई र कृष्णपुर नगरपालिका-१ स्थित ओदाली खोलामा फसेका दई जना गरी चार जनाको उद्धार गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस