चालकको अदक्षताका कारण कानुनमन्त्री सिंहको ज्यान गएको छानबिन समितिको निष्कर्ष  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चालकको अदक्षताका कारण कानुनमन्त्री सिंहको ज्यान गएको छानबिन समितिको निष्कर्ष 


२१ श्रावण २०८०, आइतबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना चालकको लापरबाहीका कारण भएको पाइएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव गङ्गाबहादुर खरेलको संयोजकत्वमा गठित छानबिन समितिले आज मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको प्रतिवेदनमा सवारी चालकको अदक्षताका कारण मन्त्री सवार गाडी दुर्घटना भएको उल्लेख छ।

‘सवारी चालकमा दक्षता भएन। सवारीसाधनबारे सवारी चालकलाई खासै ज्ञान नहुँदा दुर्घटना भयो’‚ प्रतिवेदनमा भनिएको छ। असार ५ गते डडेल्धुरादेखि गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिका-१ झारछडामा दुर्घटना भएको थियो।

दुर्घटनामा मन्त्री सिंहसहित उनकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो। मन्त्रीको मृत्युपछि असार ७ बसेको १६१औँ बैठकले खरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिलाई १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो तर ढिलो गरी आइतबार प्रतिवेदन पेश गरिएको हो। प्रतिवेदन मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि सार्वजनिक गरिने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस