संसद अवरोधप्रति रास्वपाले जनायो असन्तुष्टि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसद अवरोधप्रति रास्वपाले जनायो असन्तुष्टि


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । लगातारको संसद अवरोधप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असन्तुष्टि जनाएको छ ।

सभामुख देवराज घिमिरेले मङ्गलवार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद बैठक चल्न नसक्दा जनताका मुद्दाहरू उठाउन नपाएको भनी ध्यानाकर्षण गराएका थिए ।

एमालेले एक क्विन्टल सुन बरामद प्रकरणमा छुट्टै छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसदमा अवरोध गर्दै आएको छ । सत्तापक्ष छानबिन समिति गठन गर्न तयार नहुने र प्रमुख प्रतिपक्ष छानबिन समिति गठन नभए संसद चल्न नदिने अडान छ ।

रास्वपाकै अर्का सांसद मनिष झा संसद अवरोध गर्ने र बाहिर ‘लोकतन्त्र कमजोर भयो’ भन्ने प्रवृत्ति देखिएको बताए ।

जनताले सांसदहरुलाई आफ्नो कुरा संसदमा राख र त्यस अनुसार नीति निर्माण गर भनेर पठाएको तर त्यसअनुसार व्यवहार प्रदर्शन गर्ने वातावरण संसदमा बन्न नसकेको झाको दुखेसो छ ।

सीमित नेताहरूका कारण सांसदहरु हतियार नभएका लडाकुहरू जस्तो हुन पुगेको सांसद झाको टिप्पणी छ ।

सुन प्रकरणको विषयमा ठूला दलहरूले राखेको अडानप्रति पनि संसद झा असन्तुष्ट छन् ।

छानबिन गर्ने निकायलाई ‘हाम्रा मान्छे थुन्लास है भनेर थर्काउने’, अनि बाहिर आएर आएर लोकतन्त्रको कुरा प्रवृत्ति मूल समस्याको रूपमा देखा परेको उनको भनाइ छ ।

छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडानप्रति उनको विमति छ । अर्कोतर्फ अनुसन्धान जारी रहेको विषयमा अर्को छानबिन समिति बनाउनु भनेको विषय पन्छाउनु जस्तै रहेको दुखद इतिहास रहेको पनि उनले स्मरण गरे ।

संसदमा सुन प्रकरणमा मात्रै नभएर अन्य अनावश्यक विषयमा समेत अवरोध हुने गरेको उनको अनुभव छ । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी चढाउँदा सुन भनेर पित्तल चढाएको टिप्पणी गरेका थिए । त्यस विषयमा एमालेले प्रश्न उठाएर संसद अवरोध गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस