महिला कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने अस्पताल प्रमुखविरुद्ध मुद्दा दर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महिला कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने अस्पताल प्रमुखविरुद्ध मुद्दा दर्ता


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाद्वारा सञ्चालित अस्पतालका प्रमुखविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

सोही नगरपालिकामा काम गर्ने महिला कर्मचारीले जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गराएका हुन् । 

राति मदिरा सेवन गरी सहकर्मी महिला कर्मचारीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सीअहेब लेखनाथ पौडेलसहित उनका साथी भुवन पाण्डेयविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरीएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए । 

प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार मुद्दा दर्ता भएसँगै आरोपित पौडेललाई जिम्मेवारीबाट हटाइएको छ । 

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लका अनुसार सोमबार अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । 

आइतबार साँझ पीडित महिला कर्मचारीहरूले ती दुईमाथि जाहेरी दिएपनि सोमबार मात्रै दर्ता भएको र आरोपित दुवैजना सम्पर्कविहीन रहेको प्रहरी निरीक्षक मल्लले बताए ।

फरार रहेका आरोपीमाथि छानिबन गरी दोषीलाई कारबाही गरिने मल्लले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस