प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नीति संवाद शृङ्खला शुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नीति संवाद शृङ्खला शुरु


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नीति संवाद शृङ्खला शुरु गरेको छ । आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिव एकनारायण अर्यालको संयोजनमा शुक्रवार आयोजित नीति संवाद शृङ्खलामा विभिन्न मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, सहसचिव लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

विकास निर्माण, सुशासन र समृद्धिका लागि अपनाउनुपर्ने नीतिगत सुधार सम्बन्धमा बहस छलफल गर्ने र नीतिगत सुधारका विषयहरू पहिचान गर्दै क्रमशः कार्यान्वयन गर्दै लैजाने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहिलो पटक संवाद शुरु गरेको हो ।

आर्थिक समृद्धिमा नवप्रवर्तन र संस्थागत सुधारको भूमिका विषयमा भएको नीति संवाद कार्यक्रममा संयुक्त राज्य अमेरिकास्थित रोवान युनिभर्सिटीका प्राध्यापक प्रा. डा. कुल प्रसाद काप्रीले प्रस्तुति दिएका छन् ।

विश्वका विभिन्न मुलुकहरूको समृद्धिको इतिहास र वर्तमान अवस्थाहरू प्रस्तुत गर्दै प्रा. डा. काप्रीले विभिन्न मुलुकहरूको आफ्नो मौलिक विशेषता अनुसार विकास र समृद्धिको मोडल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । काप्रीले नेपालका तुलनात्मक लाभका क्षेत्रहरू र त्यसको समुचित विकासका लागि गर्नुपर्ने संस्थागत सुधारहरू सम्बन्धमा समेत विस्तृत चर्चा गरेका छन् ।

प्रा.डा. काप्री अमेरिकास्थित न्युजर्सी स्टेटको रोवान युनिभर्सिटीमा अर्थशास्त्रका प्राध्यापक छन् । सेन्टर फर सोसल साइन्स रिसर्च एण्ड इनोभेसनको निर्देशक र युएस नेपाल पोलिसी रिसर्च सेन्टरको कार्यकारी प्रमुख रहेका उनले स्वेनी सेन्टर फर पब्लिक पोलिसीको सदस्यको रुपमा न्युजर्सी सरकारलाई नीतिगत सुधारमा परामर्श समेत प्रदान गर्दै आएका छन् ।

कार्यक्रममा लगानी उत्पादन तथा रोजगार महाशाखा प्रमुख खोमराज कोइरालाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै यस्तो कार्यक्रमले नीति विश्लेषण र नीति सुधारका क्षेत्रमा नवीन सोचको विकास हुने र नीति निर्माण तथा कार्यान्वयनमा समेत प्रतिविम्वित गर्न सकिने बताए ।

प्रधानमन्त्री कार्यालय र राष्ट्रले नै यस किसिमको संवाद र मन्थनबाट पृष्ठपोषण लिन सक्ने र यो राम्रो सुरुवात भएको सचिव एकनारायण अर्यालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस