गृहमा मन्त्री–सचिवको ‘ट्यूनिङ’ नमिलेर तनाव ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गृहमा मन्त्री–सचिवको ‘ट्यूनिङ’ नमिलेर तनाव !


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयमा राजनीति र प्रशासनिक नेतृत्वबीच ‘ट्यूनिङ’ बिग्रेको बताइएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गृह सचिव दिनेश भट्टराईबिचको असमझदारी सतहमै देखिने गरी बढ्दै गएको अधिकारीहरूले बताएका छन् । जुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मै पुगेको एक उच्च अधिकारीले प्रशासन विशेष ब्युरोलाई जानकारी दिए । 

‘केही दिनयता खटपट अलि बढ्दै गएको देखिन्छ’, ती अधिकारीले भने, ‘मुख्य सचिव र प्रधानमन्त्रीसम्म पनि यो कुरा पुगिसकेको छ, शुक्रवार(आज)प्रधानमन्त्री आएपछि थप स्पष्ट होला कि !’

के विषयमा असहमति रह्यो भन्नेबारे ठ्याक्कै भन्न नसकिए पनि काम गराई र निर्णय प्रक्रियाका बारेमा नमिलेको हो कि ? भन्छन् सचिवालयका एक अधिकारी । बाहिर ठिकठाकै भए पनि काम गराइले ‘ट्यूनिङ’ टुटेको प्रष्टै देखिन थालेको ती अधिकारीको भनाई छ । मन्त्री–सचिव दुबैमा देखिएको असहजता गृहका अधिकारीहरूले प्रष्टै महसुस गर्न लागेकोसमेत उनले बताए । 

भुटानी शरणार्थी प्रकरण चरम उत्कर्षमा पुगिरहेका बेला वैशाख अन्तिम सातातिर भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गृहमा सरुवा भएका थिए । 

पछिल्लो केही दिनयता राष्ट्रिय परिचय पत्र नवीकरणको विषय टाउको दुः खाई बन्दै आएको छ । एक वर्षसम्म नवीकरण नै नगरी सञ्चालन भइरहेको परिचय पत्रका लागि वार्षिक मर्मत खर्च नदिएपछि कम्पनीले कुनै पनि बेला बन्द गर्न सक्ने चेतावनी दिएको छ । जसका लागि गृहमन्त्री–मुख्य सचिवसहित सरोकारवाला निकायबिच चार–पाँच पटक नै बसे पनि निकास अझै दिन सकेका छैनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस