अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन


१० श्रावण २०८०, बुधबार


अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोलगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

रक्षा मन्त्रालयमा बुधबार विपद् व्यवस्थापन लगायतका विषयमा भएको बैठकमा उनले विपद् पूर्व सतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् । छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासमक्ष सम्बन्धित अधिकारीहरूले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो, जनधनको क्षति र राजमार्ग अवरुद्ध लगायतका विषयमा जानकारी गराएका थिए ।

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । पीडितलाई राहत वितरणका सम्बन्धमा कुनै कानुनी बाधा अड्चन भएमा त्यसलाई तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए । उनले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीलाई विपद्को पूर्व आकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रूपमा समन्वय गरी काम गर्नुपर्नेमा जोड दिए ।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुखहरू र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू समेतको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस