नेपाल-भारत सीमा क्षेत्र धनुषामा एक महिलाको गोली हानी हत्या : पहिचान खुल्न बाँकी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल-भारत सीमा क्षेत्र धनुषामा एक महिलाको गोली हानी हत्या : पहिचान खुल्न बाँकी


७ श्रावण २०८०, आइतबार


जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।

मोटरसाइकलमा सवार दुई जना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।

घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो ।

भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।

नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए । उनका अनुसार दशगजा क्षेत्रमा प्रहार भएका गोलीका खोका भेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस