पर्वतमा चट्याङमा परेर पाँच घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पर्वतमा चट्याङमा परेर पाँच घाइते


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गए राति परेको चट्याङमा पाँच जना घाइते हुनाका साथै  एक घरमा क्षति पुगेको छ । जिल्लाको फलेवास नगरपालिका-३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरमा चट्याङ पर्दा तीन जना घाइते भएका थिए । गए राति करिब १२ बजेको समयमा भीषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते भएका थिए । उनीहरूको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए  । घाइतेहरूको अवस्था सामान्य रहेको छ । चट्याङले पङ्गालीको दुई तले घरको दुई वटा कोठामा पूर्ण क्षति पुर्‍याएको छ भने टिभी, मिटरबक्सलगायत विद्युतीय सामग्रीसमेत नष्ट भएका छन् । 

त्यसैगरी महाशिला गाउँपालिका-६ फलाम खानीमा पनि चट्याङमा परी दुई जना घाइते भएका छन् । बिहीबार राति करिब १२ बजेको समयमा परेको चट्याङले स्थानीय ५० वर्षीया उमादेवी सुनार र उनकी छोरी ३० वर्षीया रेखा सुनार घाइते भएकी वडाध्यक्ष गोविन्द विकले जानकारी दिए । उनीहरूको खुट्टा र कानमा चोट लागेको र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनको भनाइ थियो । 

चट्याङ लागेर फलाम खानीको पात्ला र ढडेनका सात घरमा विद्युत्को मिटर बक्स जल्नाका साथै एक बाख्रोसमेत मरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको वडाध्यक्ष विकले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस