जाजरकोट-जुम्ला सुरुङ मार्ग निर्माणका लागि अध्ययन सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जाजरकोट-जुम्ला सुरुङ मार्ग निर्माणका लागि अध्ययन सुरु


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङ मार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ । पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ । 

निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डिपिआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए। 

हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ । जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङ मार्ग नै हुने भएको यसमा जोड दिइएको पूर्व मन्त्री गणेशप्रसाद सिंहले बताए।

साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ । सुरुङका लागि करिब पाँच किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने पूर्व मन्त्री सिंहले बताए । हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ भने सुरुङमार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने उनको भनाइ छ । दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबैभन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिएको छ ।

अहिले जाजरकोट सदरमुकामबाट बारेकोट-४ को दहसम्म सडकको कच्ची कटान पूरा भएको छ । हलुका सवारी साधनसमेत सञ्चालन भइरहेका छन् । सदरमुकाम खलङ्गाबाट पाँचकाटिया हुँदै सुरुङ मार्ग निर्माण स्थलसम्म सडक निर्माण जारी छ । जुम्ला र जाजरकोटसँगै जोडिए पनि अग्ला हिमालहरू पार गर्नुपर्दा धेरै समय खर्चिनुपर्ने अवस्था छ ।

हिमाली क्षेत्रमा सडक निर्माण गर्दा त्यहाँको पर्यावरणीय सुन्दरता गुम्ने खतरा भएकाले सुरुङ मार्ग निर्माणका लागि पहल थालिएको सिंहले बताए । जुम्ला, हुम्ला र मुगु जिल्लाबाट देशका ठुला सहरमा जोडिने सबैभन्दा छोटो रुटका रुपमा यसलाई लिइएको छ । 

जुम्लाबाट कालीकोट हुँदै नेपालगञ्ज तथा सुर्खेत जाने सडकभन्दा सुरुङ मार्ग हुँदै नेपालगञ्ज, सुर्खेत जाँदा र आउँदा सात घण्टा छिटो हुने सडक डिभिजन चौरजहारीका प्रमुख आसुतोश कर्णको भनाइ छ । जुम्लाका जनप्रतिधिका लागिसमेत यो मार्ग महत्त्वपूर्ण हुँदै आएको पूर्व मन्त्री नरेश भण्डारीले बताए। 

कन्सलट्यान्टले यसका लागि पाँच महिनाको समय पाएको छ । जसमा दुई महिना बितिसकेको छ । साथै अहिले बर्खायाम भएकाले कागजी काम मात्रै भइरहेको र बर्खा सकिने बित्तिकै फिल्डैमा गएर काम सुरु हुने कम्पनीको भनाइ छ । बर्खामा सुरुङमार्ग सम्म जान र आउनका लागि बाटो अप्ठ्यारो भएकाले काम गर्न मुस्किल भएको निर्माण कम्पनीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस