कांग्रेस केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


२ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । आजको बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरिएको छ।

विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्छ । तर, एक वर्षपछि बैठक बस्न लागेको हो । २०७९ साल असार २७ देखि २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बसेको थियो।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो।

महामन्त्री विश्वप्रकाश शर्माले दश वटा एजेन्डा तय गरिएको जानकारी दिए। पहिलो एजेन्डाका रूपमा समसामयिक राजनीतिक विषय रहनेछ। यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने छ। ​

त्यसैगरी बैठकमा साङ्गठनिक कार्ययोजना र कार्य तालिकासमेत एजेन्डाका रूपमा प्रस्तुत हुनेछ। कार्यसम्पादन समितिले गरेका निर्णयहरूको अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि छलफल र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि बैठकमा प्रस्तुत हुने शर्माले बताए।

केन्द्रीय कार्यसमिति बैठकमा विभागहरू गठनका साथै पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत हुनेछ। अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि तय भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस