आज देखि काठमाडौँ महानगरमा प्लास्टिकको प्रयोग गर्न निषेध « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज देखि काठमाडौँ महानगरमा प्लास्टिकको प्रयोग गर्न निषेध


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज (सोमवार)देखि प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ । महानगरपालिकाले आज १ गतेदेखि प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइएको महानगरपालिकाका वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

महानगरका प्रमुख बालेन्द्र साहले गत असार ६ गते चालु आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोगमा प्रतिबन्ध गर्ने नीति लिने बताएका थिए ।

त्यसका लागि कामपाले प्रचारप्रसार गर्ने र नागरिकहरूलाई ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोग नगर्न आग्रहसमेत गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । आगामी आवका लागि जम्मा रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको कामपाले फोहरमैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित कार्यक्रमका लागि भने रु ८७ करोड ९३ लाख रकम विनियोजन गरेको छ ।

सफाइ कार्यमा प्रयोग हुने सवारी साधन एवं उपकरण थप गर्नका लागि रु २७ करोड रकम छुट्याएको छ । त्यसैगरी कामपा क्षेत्रभित्रका नदीहरूको सरसफाइ र संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाका रूपमा सञ्चालन गर्न रु सात करोड विनियोजन गरेको छ ।

कामपा क्षेत्रमा वायु प्रदूषण, ध्वनि प्रदूषणलगायत वातावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एवं अनुसन्धानका लागि पनि छुट्टै बजेट विनियोजन गरिएको छ । सवारी साधनहरूको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्कासन गर्ने सवारी साधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गर्ने तयारी पनि कामपाले गरेको छ ।

कामपा भित्रका नदीनालाहरूको नियमित सरसफाइ गर्न नदी सरसफाइ स्वर्णिम योजनाका रुपमा सञ्चालन पनि कामपाले जनाएको छ । यसका लागि आवश्यक उपकरणहरू खरिद गरी संस्थागत क्षमता विकास गरिनाका साथै वाग्मती तथा विष्णुमती नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गर्ने बताइएको छ । यसै वर्षदेखि वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गर्नका लागि आवश्यक सबै कदम चाल्ने कामपाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस