‘एभोकाडो सिटी’ अभियान सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘एभोकाडो सिटी’ अभियान सुरु


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । एक घर दुई एभोकाडो बिरुवा रोप्दै आगामी तीन वर्षभित्र चाँगुनारायण नगरपालिकालाई ‘एभोकाडो सिटी’ बनाउने अभियान सुरु भएको हो । 

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवं अर्थविद् डिपी ढकालले भक्तपुरको परिकल्पनालाई साकार पार्न यहाँका स्थानीयलाई एभोकाडोको बिरुवा वितरण गर्दै अभियान सुरु गरेका हुन् । ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ नाम दिएर सुरु भएको अभियानबारे जानकारी दिँदै उनले आगामी तीन वर्षभित्र नगरपालिका क्षेत्रभित्रका १७ हजार छ सय ८३ घरधुरीमा प्रति घर दुई वटाका दरले एभोकाडोको बिरुवा रोपिने योजना रहेको बताए ।

पर्यटकीय गन्तव्यका रूपमा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमार्फत पहिचान बनाउन सफल भएको यस नगरपालिकालाई एभोकाडो सिटीका रूपमा पहिचान विस्तार गर्ने उद्देश्यले  अभियान सुरु गरिएको ढकालको भनाइ थियो ।

“यस पालिकामा धेरै भूभाग खाली रहेकाले यहाँका बासिन्दाको आयस्तर बढाउनेतर्फ परिकल्पना गर्दा यो अभियानको योजना बनेको हो”, उनले भने, “अबको तीन वर्षभित्र सबैको घरमा दुई वटा एभोकाडोको बिरुवा हुर्किने छ । बिरुवाले फल दिन थालेपछि एउटा घरमा कम्तीमा रू १० हजारदेखि रू ५० हजारसम्म आम्दानी बढ्छ ।”

यहाँका नागरिकको जीवनस्तर उकास्दै हरियाली वातावरण बनाउन, पर्यावरण बचाउन तथा भौतिक विकाससँगै आर्थिक विकासका लागि यस अभियानले सहयोग पुर्‍याउने ढकालले दाबी गरे । उनले नगर क्षेत्रका प्रत्येक घरमा कम्तिमा दुई वटाका दरले एभोकाडो लगाउनुपर्ने उनको भनाइ थियो ।

अभियानका संयोजक नरेश खड्काले उक्त अभियानलाई तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको बताउँदै आजबाट निःशुल्क एभोकाडोको वितरण थालिएको जानकारीदिए। उनले रहरले रोप्ने गरिएको एभोकाडो अब आर्थिक विकास र हरियाली वातावरण बनाउन रोप्नुपर्नेमा जोड दिए। 

प्रशस्त भिटामिन, प्रोटिन पाइने एभोकाडोको माग नेपालमा बढ्दै गएको छ, भने विदेशमा समेत यसको निर्यात गर्न बढिरहेको छ । केही वर्षयता नेपालमा एभोकाडोको व्यावसायिक खेत गर्न थालिएको छ । एभोकाडोको एउटा बोटले तीन वर्षदेखि फल दिन थाल्ने र एउटा बोटले तीन क्विन्टलसम्म फल दिने विज्ञहरू बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस