लम्पी स्किनका बारेमा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

लम्पी स्किनका बारेमा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् ।

‘लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा कुरा उठेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामका बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देश गर्दछु’ सभामुख घिमिरेले शुक्रबारको बैठकमा भने ।

शुक्रबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले विगत चार महिनाको अवधिमा ८ लाख पशु चौपायाहरु संक्रमित भएको र २७ हजार मरेको उल्लेख गर्दै भनेका छन्, ‘विपन्न र गरिब किसानहरुका ३७ अर्ब बराबरको क्षति भएको छ । अवस्था यस्तो विकराल हुँदा पनि सरकारले त्यसलाई जति गम्भीरताका साथ लिनुपर्दथ्यो, जुन तदरुकता देखाउनु पर्दथ्यो र उपचारमा लाग्नु पर्दथ्यो र खोपहरु जसरी प्रभावकारी ढंगले वितरण गर्नुपर्दथ्यो त्यसमा सरकारले उदासिनता देखाएकोले किसानहरुले ३७ अर्बको क्षति ब्यहोर्नु परेको छ ।’

नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले लम्पी स्किन रोगले सबैतिर प्रभावित बनाएको छ । उनले भने, ‘यो पहाडमा झनै विकराल अवस्था भएको छ । गोरु मर्दा पहाडमा खेत नै बाँझो बस्ने अवस्था छ ।’

राप्रपाकी सांसद रोशन कार्कीले पनि लम्पी स्किनको रोकथामका लागि सरकारी योजना के छ भनी प्रश्न गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस