स्वदेशमै रोजगारी सिर्जना गर्नु छ : मन्त्री लिम्बू « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

स्वदेशमै रोजगारी सिर्जना गर्नु छ : मन्त्री लिम्बू


२८ असार २०८०, बिहिबार


काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देशभित्रैको स्रोत/साधनको उपयोग गरेर रोजगारीको सिर्जना गर्नुपर्ने बताएका छन् । युवालाई देशभित्रै बस्न बाध्य बनाउने गरी काम गर्नुपर्ने बेला आएको उनको जोड थियो ।

सङ्घीय संसद्, प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले भने, “युवालाई विदेश नजाउ, अहिलेदेखि नै काममा लाग, रोजगारीमा लाग, उद्यमशील बन भन्ने कार्यक्रम मन्त्रालयसँग छ भनेर जान सकियो भने केही मात्रामा सुधार आउन सक्छ, त्यसका लागि मन्त्रालय प्रयासरत छ ।”

आफूले खेलाडीको जीवन बीमा गराएर सुरक्षित महसुस गराउन प्रयास गरिएको बताउँदै मन्त्री लिम्बूले भने, “खेलाडीले १०–१५ वर्ष रगत पसिना बगाएर खेलेको हुन्छ, तर खेलबाट फर्किँदै गर्दा भविष्य नदेखिसकेपछि विदेशतिर पलायन हुन्छ, खाडी मुलुक जाने अवस्था छ, त्यसैले यो विषयलाई स्वरोजगार कोषअन्तर्गत व्यवसायमा लाग्न चाहने खेलाडीलाई सहयोग गर्ने योजना अगाडि बढेको छ ।”

राम्रो नीति बनाउन सकेको खण्डमा त्यसले राम्रो खालको परिणम दिने विश्वास व्यक्त गर्दै उनले  भएको स्रोत सञ्चालन गर्नेमात्रै भन्दा पनि अन्य स्रोत जुटाउनेतर्फ पनि मन्त्रालय लागिरहेको बताए । राष्ट्रिय खेलकुद परिषद्ले सबै कार्यक्रम गरे पनि  प्राविधिक जनशक्ति कम भएका कारण बजेट कार्यान्वयन गर्न नसकिएको उनले स्वीकारे  ।

ध्रुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई सहयोग गर्ने मन्त्रालयको योजनामै रहेको उनको जवाफ छ । 
 

Tags :
प्रतिक्रिया दिनुहोस