पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ


२७ असार २०८०, बुधबार


कास्की । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदल यात्रीको रोजाइमा पर्ने गरेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने गुरुङ र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । विसं २०७५ मा होमस्टे सञ्चालनमा आएपछि गाउँमा छुट्टै रौनक भेटिन्छ ।

गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुङ्गेघर नै हो । घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूल बुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ ।

यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार स्याङ्जाका अर्मलाकोट घुम्न पुगेका किसन गुरुङले यहाँको घर देख्दा मनै फुरुङ्ग भएको बता बताए ।’हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । पोखराबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो’, उनले भने,’यहाँका स्थानीयको जनजीवन, रहनसहन र स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।’

पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङले बताइन् । उनका अनुसार वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको सङ्ख्यामा कमी आएको छैन । बिदाका दिन अझ बढी पर्यटकको भिडभाड हुने अध्यक्ष गुरुङले सुनाए । ‘अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ’, उनले भनिन्, ‘पानी परे पनि रुझेरै आउनुहुन्छ । वर्षात्को समयमा पनि पाहुनको कमी भएको छैन ।’

पोखराबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको होमस्टेकी सचिव झलश्री गुरुङले बताइन्। यसलाई गुरुङ भाषामा ‘ङ्होला नासा’ पनि भनिन्छ । महेन्द्र गुफाबाट करिब दुई घण्टाको पैदल यात्राबाट अर्मलाकोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यका अवलोकनका साथै हिउँ पर्ने समयमा हिउँसमेत खेल्न सकिने उनले बताइन् ।

हामस्टेमा कोदोको ढिँडो, लोकल कुखुराको मासु, गुन्द्रुक, भट्टको अचार, सिस्नोका दाल, वर्षाको समयमा निहुरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उन बताए । साँझ सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ ।

होमस्टेमा पुग्ने एकजना पाउनाबापत रु एक हजार एक सयको दररेट निर्धारण गरिएको होमस्टेका अध्यक्ष गुरुङले जानकारी दिए हाँका अनुसार यो प्याकेजमा बिहान–बेलुकी खाना र खाजा, बास बस्नसँगै सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ । यहाँको कोसेलीको रूपमा मुलाको चना, गुन्द्रुक तथा सिजनअनुसार सिस्नो, निहुरो, टुसा तथा भाङ्ग्रा लैजान सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस