चार वटै जिल्लाका सुरक्षा निकाय एक भएर लाग्ने निर्णय « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

चार वटै जिल्लाका सुरक्षा निकाय एक भएर लाग्ने निर्णय


२५ असार २०८०, सोमबार


काठमाडौँ । उपत्यकाका तीन र छिमेकी जिल्ला काभ्रेपलाञ्चोकसहितका चार जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने, नाकामा कडाइ गर्ने र कानून विपरीतका अवैध गतिविधि रोक्न चार वटै जिल्लाका सुरक्षा निकाय एक भएर लाग्ने निर्णय भएको छ ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाबीच अन्तरजिल्ला सुरक्षा समन्वय बैठकले सो निर्णय गरेको हो । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायत चार वटै जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता रहेको संयुक्त बैठकले चारवटै जिल्लाका नाकासमेत कडाइ गर्ने निर्णय गरेको छ । 

बैठकबारे जानकारी दिँदै भक्तपुरका प्रजिअ रिजालले सबै जिल्लासँग सरोकार राख्ने विकास निर्माणका योजनामा शान्ति सुरक्षाको व्यवस्था गर्ने, गुणस्तरलगायत दृष्टिकोणले आइपर्ने समस्या समाधान गर्ने, विपद्मा आइपर्ने समस्या समाधान गर्ने, अन्तरजिल्ला नाका हुँदै लागुऔषध ओसारपसार, वन्यजन्तु तथा वन पैदावार र  आखेटोपहार आदि चोरी निकासीलगायत आपराधिक एवं अवैध गतिविधि नियन्त्रण गर्ने निर्णय भएको बताए । 

संयुक्त सुरक्षा समितिको बैठकमा सार्वजनिक यातायात सञ्चालन, भाडा दर, यात्रु क्षमता, तीव्रगतिलगायत समग्र सवारी व्यवस्थापनको क्षेत्रमा विद्यमान समस्या समाधान गर्ने, दैनिक उपभोग्य, खाद्य र अन्य सामग्री बेचबिखनका लागि अन्तरजिल्लामा सामग्री ढुवानी तथा ओसारपसार गर्दा म्याद गुज्रेका तथा अखाद्य वस्तुहरू ढुवानी हुनसक्ने भएकाले त्यस्ता कार्यलाई रोक्न संयुक्तरूपमा समन्वय र पहल गर्ने उनले बताए ।

जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावनालाई दृष्टिगत गरी नियमित बजार अनुगमन, नाकामा कडाइ गर्ने, वर्षायाम सुरु भइसकेको सन्दर्भमा नदीजन्य तथा खानीजन्य पदार्थको अवैध उत्खनन एवं दोहनलाई न्यूनीकरण गर्ने र चारवटै जिल्लामा हुने अति विशिष्ट तथा विशिष्ट व्यक्तिको भ्रमणको अवधिमा त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन चार वटै जिल्लाका सुरक्षा निकायबीच समन्वय र सहयोग आदानप्रदान गर्नेलगायतका निर्णय भएका भक्तपुरका प्रजिअ रिजालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस