हात्ती आक्रमणबाट घाइते किशोरीको उपचारमा आर्थिक कठिनाइ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

हात्ती आक्रमणबाट घाइते किशोरीको उपचारमा आर्थिक कठिनाइ


२३ असार २०८०, शनिबार


काठमाडौँ । हात्तीको आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका-३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ ।

छिमेकी आफन्तको घरमा चार दिनअघि रातको ३ बजेतिर उनी हात्तीको आक्रमणमा घाइते भएकी थिइन् । हाल उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको उपचारमा छ लाखदेखि आठ लाख रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार घाइते इक्साको कम्मरमा हात्तीको दाह्राले घोचेकाले गहिरो प्वाल छ भने देब्रे कान चुँडिएको छ । स्वास्थ्य परीक्षण प्रतिवेदनका अनुसार उनको फोक्सोमा पानी जम्न थालिसकेको छ भने छातीको एउटा करङ भाँचिएको, हातको पाता खुस्किएको र हड्डी चोइटिएको छ ।
‘चिकित्सकले तत्काल तीन शल्यक्रिया गर्नुपर्ने सुझाव दिनुभएको थियो’, गिरीले भने, ‘दुई शल्यक्रिया भइसकेको छ, पेटबाट अत्यधिक रक्तश्राव भइरहेका कारण अर्को शल्यक्रिया आइतबार मात्र गरिने भएको छ ।’

स्थानीय खगेन्द्र लिङ्देनका अनुसार खुदुनाबारीको जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत इक्साका बुवा पहलमान लिम्बुको यसअघि नै निधन भइसकेको छ भने आमाले दोस्रो विवाह गरेर गएको हुँदा हाल उनी ९४ वर्षीया हजुरआमाको संरक्षणमा बस्दै आएकी छन् ।

‘घरको आर्थिक अवस्था दयनीय छ’, लिङ्देनले भने, ‘घाइतेको अवस्था गम्भीर रहेका कारण उपचारमा आर्थिक अभाव तगारो बन्ला कि भन्ने देखिएको छ, त्यसैकारण स्थानीय युवा भाइहरुले आर्थिक सहयोग अभियान चलाइ रहनुभएको छ ।’
अस्पतालमा औषधिसहित हालसम्ममा रु चार लाख खर्च भइसकेको बताइएको छ । नगरपालिकाले घाइतेको उपचारमा ४० हजार सहयोग प्रदान गर्ने निर्णय गरेको वडा नं ३ का वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिए ।

नगरपालिकाको उत्तरी जङ्गल आसपासको ग्रामीण क्षेत्र मानव–हात्ती द्वन्द्वबाट अत्यधिक प्रभावित मानिन्छ । जुकेखाडी, दहिझोडालगायतका सामुदायिक वन क्षेत्र नजिक रहेका कारण गाउँमा बर्सेनि हात्तीको आक्रमणमा जनधनको क्षति हुने गरेको छ ।

घाइते इक्साका ठूलोबुवा धनबहादुर लिम्बुका अनुसार घटना भएको राति छिमेकी भाञ्जेदाइको घरमा भाउजु र सानो नानी मात्र रहेका कारण साथी बस्नका लागि इक्सा गएकी थिइन् । राति सुतिरहेकै अवस्थामा हात्तीले घर भत्काएर बक्सालाई झम्टेको थियो । हात्तीले सुँढ प्रयोग गरेर इक्साको कान लुछ्नुका साथै दाह्रा धसेर कम्मरमा प्वाल पारेको थियो । उक्त अवस्थामा इक्साकी भाउजु र सानी बच्चीले भागेर ज्यान जोगाएका थिए ।

युथ अफ खुदुनाबारी नामक सामाजिक संस्थाले सामाजिक सञ्जालमार्फत इक्साको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष मनोज सिटौलाले बताए ।

‘हात्तीको आक्रमण र चोटको अवस्था हेर्दा इक्साको ज्यान धन्न बचेछ भन्नुपर्छ’, सिटौलाले भने, ‘आमाबुवा नभएकी इक्साको उपचारमा आर्थिक अभाव भएपछि हाम्रो संस्थाले सहयोगका लागि अपिल गरेको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस