रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक : कृषिमन्त्री भुसाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक : कृषिमन्त्री भुसाल


२१ असार २०८०, बिहिबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको बताए ।

उनले भने, ‘४५ दिनको टेण्डरको जुन समय छ, १५ दिन प्रस्तावित गरौँ भनेका छौँ । यसमा तपाईँहरूले सहयोग गर्नुपर्नेछ । त्यसमा मान्यज्युहरुको सहयोग चाहिन्छ, छोटो बनाउनको लागि । तदनुरूप नियमावलीमा पनि संशोधन गरौँ भन्ने हाम्रो प्रस्ताव छ, हामीले औपचारिक रूपमा प्रस्ताव मन्त्रालयबाट अघि बढाइसकेका छौँ ।’

उनले जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको बताए ।

‘राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट नै एउटा के निर्णय गरेका छौँ भने नियमित गर्नका लागि जिटुजीमा नै जानुपर्छ । जिटुजीमा जानका लागि बजेटको अग्रिम सुनिश्चितता हुनुपर्छ । यो भएमात्रै तदनुरूप मागको आँकलन गरेर बजेट खरिदका लागि सुनिश्चित हुनुपर्छ ।’ उनले भने ।

उनले छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘खरिद ऐन र खरिद नियमावलीमा संशोधन, जिटुजी प्रक्रियाबाट नै जाउँ, बजेटको सुनिश्चित गरी प्रक्रियालाई छोटो गराइ समयमा नै खरिद गरौँ र आपूर्तिको व्यवस्था गरौँ ।’

मन्त्री भुसालले रासायनिक मलमा मात्रै निर्भर नभई प्राङ्गारिक र जैविक मलमा निर्भर हुने कुरामा जोड दिन आवश्यक रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस