नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ


२० असार २०८०, बुधबार


काठमाडौँ । कीर्ते कागजात पेस गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरीले जनाएको छ । 

उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा पुगेका थिए । तर प्रहरीले उजुरी नलिएपछि यादवले उच्च अदालतमा उजुरी दिएका थिए ।

सम्बन्धित समाचार : उपमेयर यादवविरुद्ध किर्ते नागरिकताको आरोपमा मुद्दा दर्ता

रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो । उपमेयर यादवका पति महेन्द्र भने फरार छन् । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । उनको पतिको खोजविन भइरहेको छ ।

उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी उजुरीमा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस