कोशीमा राप्रपासहितको सरकार बन्छ : उद्धव थापा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोशीमा राप्रपासहितको सरकार बन्छ : उद्धव थापा


१८ असार २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको सरकार बन्ने दाबी गरेका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कोशी प्रदेश सरकारको नेतृत्व काँग्रेसलाई दिने निर्णय गरेलगत्तै थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा थापालाई अघि सारेको छ । 

‘राप्रपासहितको सरकार गठन हुने भएपछि सरकारको आकार र भागबण्डाबार‍े छलफल गरेर निर्णय गर्छौँ,’ उनले भने,’प्रदेशको राजनीतिलाई स्थायित्व दिनुपर्ने छ। यसका लागि सबै राजनीतिक दल एक स्थानमा छौँ। जनता र प्रदेशवासीलाई सरकारको अनुभूत हुने गरी काम गर्नेछौँ।’

कोशी सरकार गठनका विषयमा आजै काँग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि छलफल भएको थियो।

९३ सांसद रहेको प्रदेशसभामा सरकार गठनका लागि ४७ मत आवश्यक रहेको छ। जसमा काँग्रेसको २९, सभामुखसहित माओवादीको १३, एकीकृत समाजवादी ४ र जसपाका १ सदस्य रहेका छन्।

राप्रपा सरकारमा जोडिँदा प्रदेश सरकार थप बलियो हुने थापाको भनाइ छ। प्रदेशसभामा राप्रपाका ६ सांसद छन्। नेकपा एमालेका ४० सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस