काठमाडौँ । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त भएका छन्। अस्पतालको मेसुलाई साढे ४ महिनामै परिवर्तन गरिएको हो।
प्रदेशको ठुलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको मेसुमा वरिष्ठ कन्सल्टेन्ट चर्म, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर चन्द्रभाल झा नियुक्त भएका हुन्।
आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा नियुक्त गरेको अस्पतालले जनाएको छ। यसअघि अस्पतालको निमित्त मेसु वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रविनराज सिंह रहेका थिए।
डाक्टर सिंहले अस्पतालमा निमित्त मेसुका रूपमा साढे ४ महिना सेवा गरे। डाक्टर झा ११ औँ तहका हुन् भने सिंह १० औँ तहका चिकित्सक हुन्। सुरुवा भएर कोशीमा आउनुअघि झाले मेची अञ्चल अस्पताल भद्रपुरमा ७ वर्ष काम गरेका थिए। नवनियुक्त मेसु डा. झा कोशीमा ४ वर्षदेखि कार्यरत छन्।