ओखलढुङ्गाका सुकुम्बासीलाई निस्सा वितरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओखलढुङ्गाका सुकुम्बासीलाई निस्सा वितरण


१७ असार २०८०, आइतबार


काठमाडौँ । ओखलढुङ्गाका सुकुम्बासीलाई लालपुर्जाका लागि निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण गर्न थालेको हो । 

जिल्लामै पहिलो पटक सुनकोशी गाउँपालिका-१ का राजु लुइँटेल र विनोद मगर, वडा नं ४ की बेलमाया राई, वडा नं ९ का बलबहादुर मोक्तान तथा १० की डेककुमारी घिमिरेले निस्सा पाएका छन् । प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, गाउँपालिका अध्यक्ष कमल तामाङ र जिल्ला भूमि आयोगका अध्यक्ष पुरुषोत्तम लुइँटेलले सुुकुम्बासीलाई निस्सा हस्तान्तरण गरेका थिए । 

जिल्लाका आठ स्थानीय तहमध्ये सुनकोशी गाउँपालिकाबाट भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण सुरु गरिएको आयोगका जिल्ला अध्यक्ष लुइँटेलले बताए । विभिन्न कागजपत्र र तीन पुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उनको भनाइ छ । 

निस्सा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष तामाङले लामो समयसम्म जग्गा नपाएका सुकुम्बासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए । लालपुर्जा प्राप्तिका लागि स्थानीय तहले आवश्यक सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी कुमारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकार लागिपरेको बताए । जिल्लामा यकीन विवरण तयार गरेर निष्पक्ष भएर कोही नछुट्ने गरी आयोगले काम गर्नुपर्ने उनको भनाइ छ । 

निस्सा प्राप्त गरेकाले अब लालपुर्जा पाउने आशा राखेका छन् । निस्सा पाएका लाभग्राहीको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाप जाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपुर्जा वितरण हुने आयोगले जनाएको छ । पहिलो चरणमा जिल्लामा एक सयभन्दा बढीको सङ्ख्यामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस