मलेसियालाई हराउँदै नेपाल समूह विजेता बन्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मलेसियालाई हराउँदै नेपाल समूह विजेता बन्यो


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएको घरेलु टोली मलेसिया भने उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । नेपालले समूहगत चरणको दुबै खेलमा जित हासिल गर्‍यो । समूहगत चरणको दुबै खेलमा पराजित भएको थाइल्यान्ड भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

शुक्रबारको खेलमा टस जिती पहिलो ब्याटिङ रोजेको नेपालले ३३.४ ओभरमा अलआउट हुनुअघि एक सय ८३ बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने ३०.५ ओभरमै अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो । प्रतियोगिता मलेसियामा आयोजना भइरहेको छ । नेपालको जितमा बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो ब्याटिङ राजेको नेपालका माथिल्लो क्रममा ब्याट्सम्यानहरू लामो समय क्रिजमा टिक्न नसक्दा विपक्षीसामु ठूलो लक्ष्य प्रस्तुत गर्न सकेन ।

नेपालका लागि नवौँ नम्बरका ब्याट्सम्यान अशोक धामीले अर्धसतकीय पाली खेले । टोलीको अवस्था दयनीय रहेको बेला उनले ५२ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका अशोकले केवल ३६ बलको सामना गरी पाँच छक्का र तीन चौका हिर्काएका थिए । ओपनर ब्याट्सम्यान सूर्यान्सु कोइराला २९ रनमा पेभेलियन फर्किए । उनले २६ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । टोलीको कूल स्कोर ५० रन पुग्नुअगावै नेपालले आफ्नो तीन प्रभावशाली विकेट गुमाइसकेको थियो ।

अर्का ओपनर निरजकुमार यादव आठ रनमा आउट भए भने तेस्रो नम्बरमा क्रिज समाल्न आएका दीपु कुमार पनि १५ रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान आशिष लुहारले खातासम्म खोल्न सकेनन् । प्रतीक भट्टराई चार रनमै आउट भए भने नरेन भट्टले २९ रन बनाए । सन्तोष यादव शून्य रनमै आउट भए भने कप्तान अभिषेक तिवारी चार रनभन्दा अगाडि बढ्न सकेनन् । कीर्तिक कामतले टोलीको खातामा १६ रन थपेका थिए ।

प्रतीक पोखरेलले अविजित दुई रन बनाए । आठौँ विकेटका लागि आशोक धामी र नरेनबीच ३४ बलमा ४५ रनको साझेदारी भएको थियो । नेपालका लागि यो नै सर्वाधिक रनको साझेदारी थियो । त्यसपछि नवौँ विकेटका लागि अकोश र कीर्तिक कामतबीच ३९ रनको साझेदारी भएको थियो । भ्रमणकारी टोली नेपालले अतिरिक्त रूपमा २४ रन पाएको थियो । मलेसियाका बलर हाजिक हैक्वल, मुहम्मद अक्रम, अरिन अकिल र मुहम्मद मुकरीले दुई-दुई विकेट लिए । मोहम्मद फातुल फात्रीले पनि एक विकेट हात पारे ।

जवाफी ब्याटिङमा ओर्लिएको मलेसियालाई लक्ष्यसम्म पुग्न नदिन नेपाली बलर अशोक धामी एक्लैले चार विकेट लिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए । अर्का बलर अभिषेक तिवारीले तीन विकेट हात पारे । सन्तोष यादबले दुई विकेट लिए । कीर्तिक कामतले पनि एक विकेट लिए । मलेसियाका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद हाइरिलले सर्वाधिक २५ रन बनाए । कप्तान मुहम्मद आसिफले १५ रन जोडे । मुहम्मद अक्रमले पनि १२ रन बनाए । मलेसियाले अतिरिक्त रूपमा २० रन पाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस