काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीको बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले दलका सम्पूर्ण सांसदहरुलाई २०८०/८१ को बजेट सर्वसम्मतबाट पास गर्ने निर्णय गरे अनुसार सबैलाई ह्विप जारी गरेको यादवको भनाई छ । जसपाका १२ सांसद रहेका छन् ।
यसअघि, नेपाली काँग्रेस, एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले आ–आफ्ना सांसदहरुलाई बजेटको पक्षमा उभिन निर्देशन दिइसकेको छ । बजेट बुधबार नै प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत हुँदैछ ।
