तिलागुफा नगरपालिकाद्धारा ‘पशु पैँचो’ कार्यक्रम सञ्चालन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तिलागुफा नगरपालिकाद्धारा ‘पशु पैँचो’ कार्यक्रम सञ्चालन


११ असार २०८०, सोमबार


मान्म । कालिकोटको तिलागुफा नगरपालिकाले पशु पैँचो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नगरको १३औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा नगरलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पशु पैँचो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए ।

पशुपालन व्यवस्थालाई प्रवर्द्धन गर्न विपन्न र आर्थिक अवस्था कमजोर भएका लगनशील किसानलाई पशु पैँचो कार्यक्रम लागू गरिने बजेटमा उल्लेख छ । बजेटमा कम उत्पादन क्षमता भएका पशुको बहिर्गमन गरी उन्नत नश्लका पशुपन्छीको आगमन गर्न र पशुजन्य उत्पादन बढाउन प्राकृतिक पशु प्रजननमा उन्नत पाडा, राँगा, बोका र साँडे विवरण गरिने पनि बजेटमा उल्लेख छ । कृतिम पशु प्रजननका लागि राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र मातहतका निकायसँग समन्वय गरी कृतिम गर्भाधान सेवा बिस्तार गर्न पहल गरिने समेत उल्लेख छ ।

कृषि क्षेत्रमा पशुपालन वृद्धि गर्ने उद्देश्यले पशुपैचो कार्यक्रममा सञ्चालनमा ल्याइएको उनको भनाइ छ । तिलागुफा नगरपालिकामा गाई भैँसी, भेडा बाख्रा पालन र चरन क्षेत्र राम्रो छ ।

‘नगरपालिकाले भौतिक संरचना निर्माण, स्वास्थ्य बीमालाई निरन्तरता, कृषि क्षेत्रको विकासका लागि पशुपैचोसहित वृहत् सिँचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ’, उनले भने, ‘यी कार्यक्रमले नगरपालिका भित्रको विकास र समृद्धि गर्ने लक्ष्य राखेका छौंँ ।’

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आवमा भएका सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रममा पशुपैचो, एक घर पाँच फलफुल बिरुवा कार्यक्रम सञ्चालन गरिने नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको भनाइ छ । ‘भौतिक संरचना निर्माण, खानेपानी सञ्चालन, लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकता दिइएको छ’, उनले भने, ‘स्थानीय रैथाने बालीको संरक्षणका लागि भटमास, कोदो, सिमी, कागुनो र फापर खेतीलाई जोड दिन किसानलाई प्रोत्साहन गरिनेछ ।’

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ६३ करोड ११ लाख ५४ हजार आठ सय २२ करोडको बजेट ल्याएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस