‘जसपाकै कारण संघीयता आयो, नागरिकताको समस्या समाधान भयो’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘जसपाकै कारण संघीयता आयो, नागरिकताको समस्या समाधान भयो’


११ असार २०८०, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको पहलमा नागरिकता समस्या समाधान भएको दाबी गरेका छन् ।

काठमाडौँमा आजदेखि सुरु भएको पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै उनले जसपाकै कारण देशमा सङ्घीयता आएको जिकिर पनि गरे ।

उनले भने, “अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन । नेपालमा सङ्घीयता कहिल्यै आउने थिएन । जसपा नभइदिएको भए धर्मनिरपेक्षता, समावेशिताजस्ता कुरा कल्पनाका कुरा मात्रै हुने थिए ।”

अध्यक्ष यादवले सरकार र गठबन्धन निरन्तर अघि बढ्नुपर्ने धारणासमेत राखे उनले अहिलेको सरकार निरन्तर कायम रहनुपर्ने धारणा राखे । उनले थप भने, ‘अहिले हामी सरकारमा छौँ । हामी चाहन्छौँ यो सरकार निरन्तर आफ्नो समयसम्म रहोस् र यो गठबन्धन अगाडि बढोस् ।’

सोही पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षामन्त्री अशोककुमार राईले पार्टी एकतापछिका आठ वर्षसम्म एकताकै प्रक्रिया निरन्तर चलेको बताए । उनले एकतापछि बल्ल अहिले आएर पार्टीको यौगिकताको चरण पूरा हुने अवस्थामा पुगेको बताए ।

जसपा नेपालको विधान अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ । पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय ६ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मनोनीत हुने १० जनासहित सात सय ६१ जना प्रतिनिधिहरू सहभागी भएका छन् ।

यसैगरी, सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिने छ भने छलफल सकिएपछि विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाइएको प्रमुख बस्नेतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस