‘नेपाली सेनाको संख्या कटौतीबारे राष्ट्रिय सहमति गरियोस्’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘नेपाली सेनाको संख्या कटौतीबारे राष्ट्रिय सहमति गरियोस्’


८ असार २०८०, शुक्रबार


काठमाडौँ । एमाले सांसद तारा लामा तामाङले नेपाली सेनाको सङ्ख्याबारे राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् । सेनाको संख्या कटौतीबारे पटक-पटक प्रश्न उठिरहेको भन्दै यसलाई राष्ट्रिय सहमति गरेर निरूपण गर्नुपर्ने उनको भनाइ छ

प्रतिनिधिसभामा शुक्रबार सम्पन्न विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद तामाङले भने, ‘नेपालीहरूको गौरव सेनाको सङ्ख्याबारे बारम्बार टीका-टिप्पणी हुने गरेको छ । यसलाई राष्ट्रिय सहमति गरेर टुङ्ग्याऔँ । सेनाबारे गैर जिम्मेवार तरिकाले बोल्नुहुँदैन ।’

सेना पनि समयानुकूल चल्ने र सदनमा प्रश्न उठाउन पाउने गरी व्यवस्थित गर्न माग गर्दै उनले हरेक सैनिकले सरकार अनुभूति हुने गरी रक्षा मन्त्रालयले सेनालाई व्यवस्थित गर्न रक्षामन्त्रीको ध्यानाकर्षण गराए । 

सांसद तामाङले सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मीमा रहेको सुविधाको विभेद हटाउन पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए । ‘कमसेकम जिल्लाको दररेटअनुसार सुरक्षाकर्मीलाई खानाको व्यवस्था गर्नुपर्छ । अहिले थोरै दिइएको छ । संशोधन गरियोस्,’ उनले भने ।  

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको दयनीय अवस्था रहेको भन्दै उनले बिओपी व्यवस्थित गर्न सुझाव दिए । ‘कारागार व्यवस्थित गरियोस् । नेपालगन्ज र नुवाकोटमा बनेको नयाँ कारागार यथाशीघ्र सञ्चालनमा ल्याइयोस्,’ सांसद तामाङले भने । विपत् पूर्वतयारीमा ध्यान दिन र अध्यागमन कार्यालय समयानुकूल सुव्यवस्थित बनाउन पनि उनले माग गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस