प्रधानमन्त्रीले नागरिकता विधेयक फिर्ता लिनुपर्छ : प्रेम सुवाल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीले नागरिकता विधेयक फिर्ता लिनुपर्छ : प्रेम सुवाल


८ असार २०८०, शुक्रबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण लगाउने मन्त्रिपरिषद्को सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन्।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको सो विधेयक संवैधानिक र कानुनी हिसाबले प्रधानमन्त्री प्रचण्डले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्न नमिल्ने भएकाले त्यसलाई तत्काल फिर्ता लिन आग्रह गरेका हुन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सुवालले विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा सरकार अग्रसर भएको जिकिर गर्दै पछि हट्न आग्रह गरे।

‘नेपालीलाई नेपाली नागरिकता दिनुपर्छ। तर, विदेशीलाई दिनु हुँदैन। ०६३ साल यता सार्वजनिक सर्जिमन गराई विदेशीलाई जन्मको आधारमा दिइएको नेपाली नागरिकता खारेज गर्नु पर्छ। जन्मको आधारमा विदेशी नेपाली भएकाका छोराछोरीहरूलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु उचित होइन। यो नेपाललाई सिक्किमजस्तै बनाउने हो। र, शासकहरू लेन्डुपजस्तै हुने बाटो हो। यो देशद्रोही बाटोबाट सरकार पछि हट्नु जरुरी छ। अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गर्नु भएको नागरिकता विधेयकलाई निर्वाचनपछि गठन भएको सरकारले नयाँ संसद्लाई छलेर मन्त्रिपरिषदबाट पारित गराई नयाँ राष्ट्रपतिलाई प्रमाणीकरण गराउन अनुरोध गर्ने संवैधानिक र कानुनी व्यवस्था छैन,’ सांसद सुवालले भने, ‘प्रधानमन्त्रीजीको त्यो अनुरोध फिर्ता हुन जरुरी छ। र, संसदमा नागरिकता विधेयक ल्याउन जरुरी छ।’

Tags :
प्रतिक्रिया दिनुहोस