ओखलढुंगामा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओखलढुंगामा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु


८ असार २०८०, शुक्रबार


काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा गएराती गएको पहिरोमा परी १८ महिने शिशु सहित एकै परिवारको चार जनाको मृत्यु भएको छ ।

पहिरोले दुई दर्जन बढी घर बगाउनुको साथै पशुचौपाया र धनजनको क्षति गराएको र उद्धार कार्य भइरहेको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिए ।

‘बिहीवार परेको वर्षाको कारण ११ बजे राती गएको पहिरोमा रणबहादुर गुरुङको परिवार नै परे । मृतक मध्ये ३८ वर्षीय रणबहादुर गुरुङ, २९ वर्षीया शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको छ ।’ राउतले भने ।

पहिरोले गुरुङ बस्तीमा रहेको अन्य २५ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ भने,दुई दर्जन बढी पशुचौपाय पनि बगाएको छ । पहिरो गएको थाहा पाएपछि हिजो रातीबाटै नेपाल प्रहरी,सशस्त्र प्रहरी सहित स्थानीयजनको सहयोगमा खोजी तथा उद्धार कार्य सुरु गरिएको राउतको भनाई छ ।

मृतक मध्ये अझै एक जनाको शव भेटिएको छैन । प्रहरीले खोजी कार्य जारी राखेको छ भने,के कति धनमालको क्षति भयो सो विवरण यकिन भैनसकेको वडा अध्यक्षले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस