मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी


७ असार २०८०, बिहिबार


वीरगञ्ज । मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख ई मुनीन्द्र ठाकुरले अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म मधेस प्रदेशका ९९ प्रतिशत बस्तीमा विद्युत् सेवा पुगेको जानकारी दिए । “बाँकी रहेको एक प्रतिशत घरमा चालु आर्थिक वर्ष २०७९/८० मा विद्युत् पुर्‍याएपछि प्रदेशका शतप्रतिशत बस्तीमा विद्युतीकरण पुगेको छ”, उनले भने । 

प्रमुख ठाकुरले केही दिनमा प्रदेशलाई ‘शतप्रतिशत विद्युतीयकरण प्रदेश’घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । प्रदेशका सबै गाउँबस्तीमा विद्युतीकरण सकिएपछि सिँचाइ कार्यक्रममार्फत किसानको खेतबारीसम्म विद्युत् पुर्‍याउने अभियान सुरु गरिएको उनले बताए ।  विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षदेखि रू. ५५ करोड बराबरको सिँचाइ पूर्वाधार कार्यक्रमका लागि स्थानीय सरकारसँगको सहकार्यमा सिँचाइ विद्युतीकरण सुरु गरेको छ ।

“उक्त कार्यक्रमअन्तर्गत स्थानीय सरकारले आफ्ना पालिकाभित्रका किसानलाई निःशुल्क बत्ती दिने र सिँचाइ बत्ती महसुलबापतको रकम स्थानीय तहले प्राधिकरणलाई बुझाइने व्यवस्था गरेको छ”, प्रमुख ठाकुरले भने । हालसम्म सिँचाइ पूर्वाधार कार्यक्रमका लागि धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ८० स्थानीय तहले निःशुल्क सिँचाइ बत्ती पुर्‍याउन निर्णय गरेर पठाएको उनले बताए । 

सिँचाइ मिटर प्रयोग गर्ने किसानलाई प्रतियुनिट रू दुईका दरले मात्र महसुल तिराउने नीति लिएर विद्युत् प्राधिकरणले सिँचाइ विद्युतीकरण सुदृढीकरण कार्यक्रमका लागि रू पाँच अर्ब बजेट छुट्याएको जनाएको छ ।  प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम पश्चात् प्राधिकरण सेवा विस्तार प्रणाली सुदृढीकरण भएको र निरन्तर विद्युत् चुहावट घट्दै गएको प्रमुख ठाकुरले जानकारी दिए ।

मधेस प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७८/७९ मा १४ दशमलव १७ प्रतिशतमा चुहावट झरेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।  सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१/४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५/३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको थियो । 

औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको जनाएको छ । चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।  मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २२ हजार छ सय ६३ ग्राहकको विद्युत् लाइन काटिँदा १८ हजार आठ सय २९ ग्राहकले पुनः विद्युत् जडान गराएका प्रमुख ई ठाकुरले बताए । उनका अनुसार पुनः विद्युत् जडानबाट रू एक अर्ब ४३ लाख ४३ हजार एक सय १५ बक्यौता असुली भएको छ । 

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन कट्टा गर्ने अभियान चलाएको प्रमुख ई ठाकुरको भनाइ छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म मधेस प्रदेशमा रू १४ अर्ब ३३ करोड मूल्य बराबरको विद्युत् बिक्री हुँदा रू १२ अर्ब ९३ करोड महसुल सङ्कलन भएको उनले जानकारी दिए ।

“मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० मा ६१ हजार सात सय ६३ नयाँ ग्राहक थपिएका छन् । योसँगै प्रदेशमा ग्राहकको सङ्ख्या दश लाख ४४ हजार सात सय ८६ रहेका छन्”, प्रमुख ठाकुरले भने । विसं २०७८ देखि अनलाइनबाट विद्युत् महसुल बुझाउनका लागि अनलाइन सेवा सुरु गरेको उनले जानकारी दिए । उनका अनुसार कुल ग्राहकमध्ये हाल २६ प्रतिशतले अनलाइन सेवामार्फत विद्युत् महसुल तिर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस