ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने


७ असार २०८०, बिहिबार


कटारी । उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विगतमा जस्तो वडागत रूपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल रु ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ । ‘समग्रमा पालिकाभरिका योजना एकीकृतरुपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिनेछ’, उनले भने ।

पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्त्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो ।

बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारीता नदेखिने हुँदा वडागतरुपमा बजेट माग नगरिएको ताप्ली–१ का वडाध्यक्ष उद्धव हमालले बताए ।

गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत रु सात करोड ५५ लाख, सशर्त अनुदान शीर्षकअन्तर्गत रु १८ करोड, विशेष अनुदानतर्फ रु एक करोड ९ लाख र समपूरक अनुदान पुँजीगततर्फ रु २६ करोड बजेट विनियोजन गरिँदै छ । चालु आवको तुलनामा आगामी आवका लागि रु दुई करोड ३६ लाख कम बजेट विनियोजन गरिएको छ । ताप्लीमा पाँच वडा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस