देश बनाउन सबैको हातेमालो आवश्यक : मन्त्री मोदी  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देश बनाउन सबैको हातेमालो आवश्यक : मन्त्री मोदी 


५ असार २०८०, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देश बनाउन सबैको हातेमालो आवश्यक रहेको बताएका छन् । 

मन्त्री मोदीले अध्यक्षता सामान्य मन्त्रालयद्वारा आयोजित कर्मचारीको नवीन सोच प्रस्तुतिका लागि प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले भने, “कोही एक्लैले यो देश बनाउन सक्दैन, देश बनाउन सबैको हातेमालो चाहिन्छ ।” 

मन्त्री मोदीले नवीनतम सोचका साथ आफूले मन्त्रालयको नेतृत्व सम्हालेकाले नयाँ ढङ्गबाट कर्मचारी प्रशासनलाई अगाडि बढाउने गरी कार्य योजना निर्माण भइरहेको बताए । 

बदलिँदो परिवेशअनुसार सेवा प्रवाहलाई अगाडि बढाउनुपर्ने बताउँदै उनले भने, “नवीनतम सोच र प्रयोगबाट सेवा प्रवाहलाई सरलीकृत बनाउनुपर्ने आजको आवश्यकतालाई निजामती प्रशासनले अङ्गीकार गर्न जरुरी छ ।” 

सुशासनका पक्षमा दूरगामी निर्णयहरू भएको औँल्याउँदै मन्त्री मोदीले संघीय निजामती ऐनका सबै काम सकेर सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको, निमित्त हटाउने अभियान तीव्रताका साथ अगाडि बढाएको, नियमित बढुवा र लोकसेवाबाट आएका शाखा अधिकृत र उपसचिवलाई स्थानीय तहमा खटाएको, सबै मन्त्रालयका अतिरिक्त कर्मचारीको विवरण मागेको र खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाई खटाएको ठाउँमा हाजिर गराएको समेत उल्लेख गरे ।

समयमा सेवा प्रवाह नपाउँदा नागरिकमा गुनासो बढिरहेकाले नागरिकलाई सहज र सरल ढङ्गबाट सेवा प्रवाह दिने सन्दर्भमा ध्यान दिन आवश्यक रहेको समेत मन्त्री मोदीको भनाई थियो । प्रतिभा डबलीमा प्रस्तुत भएका उत्कृष्ट १० प्रतिष्पर्धीहरुको क्षमता र नवीनताको सोचको प्रशंसा गर्दै मन्त्री मोदीले भने, “विभिन्न प्रतिभाहरूको खोजी गरेर निजामती प्रशासन सेवालाई सुधार गर्न प्रस्तुत गर्नुभएको नवीनतम सोचको म प्रशंसा गर्न चाहन्छु, तपाईँहरूको यो नवीन सोचले कर्मचारी प्रशासनको सुधार र मुलुकको विकासमा टेवा पुर्‍याउनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।” 

नवीन सोचको कार्यान्वयन नभएसम्म मुलुकले सही दिशा समात्न नसक्ने समेत मन्त्री मोदीले बताए । उनले थपे, “सम्माननीय प्रधानमन्त्री सुशासन कायम गर्नका लागि भ्रष्टाचारको विरुद्धमा लागिरहनुभएको छ । यो अभियानको हामी सहयात्री बन्न आवश्यक छ ।” 

Tags :
प्रतिक्रिया दिनुहोस