काठमाडौँ । पाटन उच्च अदालतले काठमाडौँ महानगरपालिका र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) लाई आगामी बुधबार छलफलमा डोकेको छ ।
महानगरले जेठ ३२ गते भृकुटीमण्डपमा जारी शैक्षिक मेला रोकेपछि हिसानले अन्तरिम आदेश माग गर्दै अदालतमा रिट निवेदन दिएको थियो ।
सोमबार न्यायाधीश जगदीश घिमिरेको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको हो ।
‘शैक्षिक मेला सञ्चालनमा विपक्षी महानगरपालिकाबाट अवरोध गरेको उल्लेख गरी निषेधाज्ञासहितको अन्तरिम आदेश माग गरेको देखिँदा निवेदनमा उठाएको विषय र गम्भीरतासमेतलाई विचार गर्दा दुवै पक्षलाई छलफलमा उपस्थित गराई आदेश गर्नुपर्ने प्रकृतिको देखिएकाले अन्तिम आदेश छलफलका लागि असार ६ गते पेसी तोकिएको छ,’ आदेशमा उल्लेख छ । छलफलमा उपस्थित हुँदा विपक्षी काठमाडौँ महानगरलाई सबुत प्रमाण र निर्णय काज भए सोसमेत लिई उपस्थित हुन जानकारी गराइएको छ ।
हिसानले मेलामा बिना कारण हस्तक्षेप गरेकोमा १५ करोड क्षतिपूर्ति र तत्काल मेला सञ्चालनको मागसहित आइतबार रिट दर्ता गरेको थियो ।
