७ वटा मन्त्रालयको बजेटमाथि सकियो छलफल  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

७ वटा मन्त्रालयको बजेटमाथि सकियो छलफल 


३ असार २०८०, आइतबार


काठमाडौँ । विनियोजन विधेयक २०८० को मन्त्रालयगत छलफलअन्तर्गत हालसम्म सात वटा मन्त्रालयको बजेटमाथि छलफल सकिएको छ। 

प्रतिनिधि सभामा आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सकिएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शीर्षकमाथिको छलफल आज तोकिए पनि प्रदेशको नामको सट्टा अङ्क उल्लेख भए पछि कार्यसूचीबाट हटाएर असार ८ गतेका लागि तोकिएको छ। 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रदेशसभाको बहुमतबाट स्वीकृत प्रदेशको नाम सङ्घ सरकारले मात्र होइन संघीय संसदलेसमेत अस्वीकार गर्न नमिल्ने भन्दै नियमापत्ति जनाएपछि पर्यटनमन्त्री सुदन किराँतीले अङ्क सच्याई प्रदेशको नाम राखेर छलफलका लागि ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

यसअघि युवा तथा खेलकुदमन्त्री विदेश भ्रमणमा रहेको मन्त्रालयको बजेट छलफलमा ल्याएको भन्दै अर्को दिनलाई सारिएको थियो। 

त्यस्तै, सहरी विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम समावेश भएको पुस्तक प्राप्त नभएकाले छलफल हुन नसकेको यो मन्त्रालयको छलफल असार ५ गते हुनेछ। 

खेलकुद मन्त्रालयको छलफल भने असार ५ गते हुनेछ। अब सञ्चार तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा‚ जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेटमाथि सोमबार छलफल हुनेछ। 

यसअघि शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि छुट्याइएको बजेट शीर्षकमा छलफल भएको हो। बिहीबार पहिलो दिन वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस