काठमाडौँ महानगरले ११ महिनामा उठायो ८ अर्ब राजस्व  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरले ११ महिनामा उठायो ८ अर्ब राजस्व 


३ असार २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा ८ अर्ब राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आर्थिक वर्ष २०७९-८० को ११ महिनामा ८ अर्ब २९ करोड ९५ लाख ५९ हजार २७८ राजस्व सङ्कलन गरेको हो । यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशत मात्रै हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षको लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो ।

जसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व सङ्कलन मध्ये काठमाडौँ महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको देखिएको छ ।महानगरपालिका ४ अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये ४ अर्ब ७७ करोड उठाएको हो । जुन अघिल्लो आर्थिक वर्षको भन्दा एक अर्ब बढी हो । आर्थिक वर्ष २०७८-७९ मा महानगरले ३ अर्ब ७२ करोड मात्रै आन्तरिक आय सङ्कलन गरेको महानगरको राजस्व विभागले जनाएको छ ।

महानगरपालिकाले आन्तरिक आयतर्फ घर बहाल करमा १ अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले यो शीर्षकमा २ अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । यस्तै सम्पत्ति करमा ९१ करोड ३३ लाख राजस्व उठाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १२ करोडले बढी हो ।

Tags :
प्रतिक्रिया दिनुहोस