गरिब मारा बजेट : गोकर्ण विष्ट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गरिब मारा बजेट : गोकर्ण विष्ट


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले बजेट न्यून आय भएका जनताको पक्षमा नभएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको दोस्रो बैठकमा ‘विनियोजन विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै विष्टले विनियोजन विधेयक अत्यन्तै अन्यायपूर्ण, विभेदकारी रहेकाले आफूहरूले छलफल गर्न समेत नचाहेको बताएका हुन् ।

उनले विनियोजन बजेट गरिब जनताको हित विपरीत आएको जिकिर गरेका थिए । बजेटमा एमालेको गम्भीर असहमति रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री, अर्थमन्त्रीसहितका शक्तिशाली मन्त्रीहरूका लागि मात्रै बजेट विनियोजन गरिएकाले त्यसप्रति एमालेको आपत्ति रहेको उनले बताए ।

उनले भने, ‘यो बजेट गरिब मारा छ । यसले गरिब जनताको हित गर्न सक्दैन । यो बजेटले मानव सूचकाङ्कमा पछि परेका क्षेत्र र जनताहरूको जीवनलाई माथि उठाउने गरी विनियोजन गर्नुपर्दथ्यो । खास गरी उपचार नपाएर अकालमा जीवन गुमाउने जनताहरू, अस्पतालको अनुहार देख्न नपाउने जनताहरूको संरक्षणका लागि स्वास्थ्यमा, जनताको उपचारमा विनियोजन थप्नुपर्दथ्यो । पढ्न नपाएर भारतका गल्लीहरूमा चौकीदारको रूपमा जीवन जिउन बाध्य नेपालका बालबालिका र युवाहरूलाई शिक्षामा सुविधा दिनका लागि, गुणस्तरीय शिक्षाका लागि विनियोजन बढाउनुपर्दथ्यो । त्यो प्रकारको अवस्था देखिँदैन । एक प्रकारले भन्ने हो भने यो विनियोजन अकालमा मानिसहरूको जीवनलाई संरक्षण गर्न योग्य छैन । पढ्न नपाएको नागरिकहरूलाई पढेर योग्य नागरिक बनाउनका लागि यो विनियोजन सबल छैन । खास गरी प्रधानमन्त्री, अर्थमन्त्रीलगायत शक्तिशाली मन्त्री, विनियोजन त्यहाँ छ । एक प्रकारले भन्ने हो भने आफ्नो हात जगन्नाथ भन्ने एउटा उखान छ नि ! त्यही प्रकारको स्थिति छ । सांसदहरूका नाममा त उहाँले ५ करोड विनियोजन गर्नुभयो । तर अर्बौँ रुपैयाँ प्रधानमन्त्री, अर्थमन्त्रीसहितका मन्त्रीहरूको क्षेत्रमा लैजानुभयो । यसले देशलाई ऋण थप्ने गरी टाँट पल्टाउने गरी लैजान्छ । अर्को प्रकारले भन्ने हो भने समाजलाई नकारात्मक दिशामा लैजान्छ । त्यसको परिणाम, हामीलाई कङ्गाल बनाउँछ । त्यस कारण यो विनियोजनमा छलफल पनि गर्ने कि नगर्ने ? छलफल गर्न पनि लायक यो विनियोजन छ कि छैन ? भन्ने प्रश्न त छ नै । संसदीय प्रक्रियामा छलफल त गर्नुपर्ने हुन्छ । तर यसमा हाम्रो गम्भीर असहमति छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस