काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्र हित विपरीत अभिव्यक्ति दिएको भन्दै एमालेले आपत्ति जनाएको छ ।
एमालेले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएको गैर जिम्मेवारी र राष्ट्रहित विपरीत अभिव्यक्तिको संसदमा जवाफ माग गर्ने भएको छ।
शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवार पूर्ण अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए।