प्रदेशको अधिकार नियन्त्रणमा राखेर सङ्घले एकाधिकार जमायो : मुख्यमन्त्री शाह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदेशको अधिकार नियन्त्रणमा राखेर सङ्घले एकाधिकार जमायो : मुख्यमन्त्री शाह


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले संघीय सरकारले प्रदेशलाई भिक्षुलाई जस्तो व्यवहार गरेको आरोप लगाएका छन् । आज (मङ्गलवार) अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षु भए जस्तो व्यवहार देखाएको आरोप लगाए ।

संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको उनले गुनासो गरे । प्रदेश मातहतमा पर्ने राजश्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालन समेत संघीय सरकारको नियन्त्रणमा राखेर एकाधिकार जमाएको उनले बताए ।

प्रदेश सरकारले राजश्व सङ्कलन गरिदिए अनुदान दिन्छौँ भन्दै एकाधिकार जमाएको बताउँदै उनले प्राकृतिक स्रोत प्रदेश मातहतमा आए पनि स्वीकार गर्न नसकेको बताए । प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरू केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै शाहले प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाँटमा लडाइँ गर्नु परेको बताए ।

‘प्रदेश र संघीय सरकारबीच अधिकारको विषयमा लडाइँ रहेको छ । प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरू केन्द्र सरकारप्रति उत्तरदायी छन्’, उनले भने, ‘प्रदेश सरकारलाई अधिकार दियौँ भनेर ललिपप खुवाए जस्तै छ । संघीय सरकार दाता, प्रदेश सरकार भिक्षुक जस्तै भएको कारण संघीय सरकारलाई दबाब दिन थालिएको हो ।’ मुख्यमन्त्री शाहले केन्द्र सरकारले राजश्व सङ्कलनका क्षेत्रहरूमा बाँडफाँटमा एकाधिकार गरेको बताए । उनले सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्यभित्र छिर्न नपाएको गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस