ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमारसहित ७ जनाको यात्रा अनुमति रद्द गर्न गृहको पत्र « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमारसहित ७ जनाको यात्रा अनुमति रद्द गर्न गृहको पत्र


८ जेष्ठ २०८०, सोमबार


बागलुङ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको यात्रा अनुमति रद्द गराउन गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्राचार गरेको छ ।

शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षरमा नगर प्रमुखसहित बागलुङमा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्द गराउन विभागलाई पत्र पठाइएको हो ।

नगर प्रमुख नेपालीसहित सहकारीका पदाधिकारी केही दिनदेखि सम्पर्कविहीन भएकाले उनीहरू भागेर विदेश जान सक्ने भन्दै यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई आग्रह गरेको थियो ।

उनलाई रोक्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न नाकामासमेत प्रहरी परिचालन गरिएको छ ।

संस्थापक अध्यक्षको रूपमा नेपालीसहित सहकारीको कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको समेत यात्रा अनुमति रद्द भएको हो ।

सहकारीले एक महिना अघिदेखि आर्थिक सङ्कटको कारण देखाउँदै कारोबार बन्द गरेको थियो । उक्त सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ ।

बचतकर्ताले गत वैशाख पहिलो सातादेखि नै सहकारीको शाखामा धाइरहेका छन् । हाल भने बचतकर्ताहरूले कार्यालयमा धर्ना दिइरहेका छन् । आइतबार बेलुका पनि बचतकर्ताले जिल्ला प्रशासनमा पुगेर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका थिए ।

सहकारीले छिटफुट रूपमा प्रतिव्यक्ति ५ हजार मात्रै रकम फिर्ता दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस