कार्यकक्षमै कर्मचारीले सेवाग्राहीसँग मागे घुस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कार्यकक्षमै कर्मचारीले सेवाग्राहीसँग मागे घुस


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ। जीतपुर सिमरा उपमहानगरका एक कर्मचारीले कार्यकक्षमै सेवाग्राहीसँग कमिसन मागेको खुलेको छ ।

उपमहानगरपालिकाको सामाजिक विकास शाखामा कार्यरत कर्मचारी हरि किशोर साहले सेवाग्राहीसँग घुस रकम मागेको उजुरी परेको मेयर राजन पौडेलले बताए ।

सेवाग्राहीले उजुरी दिएपछि आवश्यक छानबिन र कारवाहीका लागी प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको मेयर पौडेलले बताए ।

उनले प्रशासनसँग भने, ‘सेवाग्राहीसँग कमिसन मागेको भन्ने कम्प्लेन म कहाँ आएको थियो, मैले सल्लाह गरेर छानबिन र कारवाहीका लागी अधिकृतलाई पत्र पठाइसकेको छु ।’

यता प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले आवश्यक छानबिन अगाडी बढेको बताए । यो प्रकरणमा सुरुमा केही अनभिज्ञता जस्तो देखीएपनि आफूकहाँ पत्र पुगेको र कारवाहीका लागी प्रक्रिया अगाडी बढेको बताए ।

उनले भने, ‘पत्र पुगेको छ, हामी छानबिन गर्दै छौ, कमिसन मागेको पुष्टि भयो भने त कानून बमोजिम कारबाही भइहाल्छ ।’

एक जना सेवाग्राहीले विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि किशोरी शिक्षा र माध्यमिक तथा प्रावि तहका शिक्षकहरूका लागि मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न उपमहानगरसँग सम्झौता गर्ने क्रममा कर्मचारी साहले आफूसँग घुस रकम मागेको दाबी गरेकी हुन् ।

एक कर्मचारीका अनुसार साहलाई वडा कार्यकालमा पठाइएको छ ।

यता घुस मागेको भनिएका हरि किशोर साहले आफूले कुनै घुस नमागेको दाबी गरेका छन् । आफूलाई बदनाम गर्ने नियतले यो सब गलत प्रचार गरिएको उनको आरोप छ । उनले भने, ‘मैले कुनै कसैसँग घुस मागेको छैन, कसैको बदनाम गर्ने नियत पनि हुन सक्छ त्यो उहाँलाई नै थाहा होला तर मैले गल्ती गरेको छैन ।’

आफूले कुनै गल्ती नगरेको दाबी गर्दै उनले आफ्नो कुनै कुनीयतबस घुस मागेको प्रमाण भेटिए कारबाही भोग्न तयार रहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस