काठमाडौँ । नेपाल एपीएफ अस्पतालमामा वैशाख २७ गते देखि डायलासिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलासिस सेवाको बुधबार उद्घाटन गरेका हुन् ।
सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्य प्रति चासो राख्दै डायलासिस र मृगौला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय
भएपछि शुरु भएको डायलासिस सेवाले नेपाल एपीएफ अस्पतालको विस्तार र विविधीकरणमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
उनले नेपाल एपीएफ अस्पतालमा आइसियु तथा भेन्टीलेटरको सुविधा रहेको भएतापनि आपतकालिन अवस्थामा बिरामीलाई डायलासिस सेवा दिनुपर्दा अन्य अस्पताल लैजानुपर्ने र बिरामीको स्वास्थ्यमा जोखिम उठाउनुपर्ने बाध्यतालाई निराकरण गर्न यो सेवा प्रभावकारी एवं फलदायी रहने समेत बताए ।
महानिरीक्षक अर्यालले अस्पतालमा डायलासिस सेवा विस्तारले सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवारजन, अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं परिवारजन, स्थानीयवासी लगायत आम सर्वसाधारण तथा विपन्न नागरिकहरूले पनि सेवा पाउने बताउँदै नेपाल एपीएफ अस्पतालले कसैप्रति आग्रह पूर्वाग्रह नराखी कसैलाई पक्षपात नगरी उत्कृष्ट सेवा प्रदान गरी आम नागरिकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।