सिटी होटेलको आईपीओ आजबाट बिक्री खुला « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सिटी होटेलको आईपीओ आजबाट बिक्री खुला


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । सिटी होटेल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

होटेलले आफ्नो जारी पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

सोमध्ये पहिलो चरणमा एक लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो ।

यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीका लागि छुट्ट्याइएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

होटेलको आईपीओमा यही वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागअनुसार आवेदन नपरे जेठ ८ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम दुई हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस