काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन करोड जनताको जिउ, ज्यानलाई ध्यानमा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका पाँचवटै महाशाखाका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री बस्नेतले अरु मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले जनताको जिउ ज्यानलाई ध्यानमा राखेर नीति, योजना बनाउनु पर्नेमा जोड दिए ।
मन्त्रालय अहिले आगामी वर्षको बजेटमा जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारेन्टी गर्ने किसिमले बजेट विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरूलाई निर्देशन दिए । कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हुने बस्नेतले बताए ।
मन्त्रालयका समस्या समाधानका लागि आफूले कर्मचारीहरूलाई आवश्यक पर्ने समय दिन तयार रहेको बताउँदै मन्त्री बस्नेतले मन्त्रालयको कामकाजमा ढिलाइ नहोस् भन्नका लागि आफूले आगन्तुकसँग भेटघाटको समय हरेक दिन साँझ ४ बजेपछि मात्र राख्न लागेको जानकारी दिए । उनले भने, “अन्य भेटघाटले काममा बाधा नपरोस् भन्ने हेतुले मैले आगन्तुक भेट्ने समय साँझ ४ बजेपछि राख्दै छु ।”
सुर्तीजन्य पदार्थमा करको दायरा बढाएर भए पनि विपन्न जनतालाई स्वास्थ्य उपचार दिनुपर्नेमा उनले जोड दिए । भने, “सुर्तीजन्य पदार्थमा कर बढाऔँ र त्यसबाट सङ्कलन भएको रकम वीर अस्पताललगायतका विपन्नको उपचार हुने अस्पताललाई अनुदान दिऔँ । सुर्तीजन्य पदार्थको करबाट उठ्ने रकम क्यान्सरलगायतका रोगमा मात्र खर्च गर्ने व्यवस्थालाई परिवर्तन गर्न आवश्यक भए प्रधानमन्त्रीसँग सल्लाह गरेर नियम परिवर्तन गर्ने मन्त्री बस्नेतले बताए ।
मन्त्री बस्नेतले मन्त्रालयमा गर्न सकिने सुधारका कामका लागि आफूलाई लागेका सल्लाह लिखित रूपमा दिन आग्रह गरेका छन् । कमिसनका लागि अनावश्यक उपकरण किन्ने र तिनलाई प्रयोग नगरेर थन्क्याउने गलत प्रवृत्ति रहेको बताउँदै मन्त्री बस्नेतले त्यो चलन तत्काल रोक्न कर्मचारीहरूलाई निर्देशन दिए ।
आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयको बजेट करिब ४० प्रतिशतले कटौती हुन लागेको बताउँदै बस्नेतले बजेट बढाउनका लागि आफूले नेतृत्व गर्ने र सबै कर्मचारीले त्यसमा साथ दिनुपर्नेमा जोड दिए ।