संसदमा निरन्तर जाने १० सांसदको नाम सुनाउने प्रस्ताव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसदमा निरन्तर जाने १० सांसदको नाम सुनाउने प्रस्ताव


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभाको बैठकमा निरन्तर उपस्थित हुने १० जना सांसदको नाम अधिवेशनको अन्तिममा सुनाउने प्रस्ताव गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा खतिवडाले यस्तो प्रस्ताव राखेका हुन् ।  

‘अनुपस्थित हुने सांसदको नाम मात्रै प्रस्तुत हुने परम्परा छ । अब लगातार संसदमै बस्ने कमसेकम १० जना सांसदको नाम अधिवेशनको अन्त्यमा बोलेर प्रस्ताव गर्नुपर्छ,’उनले भने । 

हाल संसद बैठकमा निरन्तर दश वटा बैठकमा अनुपस्थित हुने सांसदको नाम सुनाउने अभ्यास छ । संविधान र प्रतिनिधिसभा नियमावलीले समेत निरन्तर दश वटा बैठकमा अनुपस्थित रहने सांसदले सूचना दिनुपर्ने हुन्छ । अन्यथा बिना सूचना निरन्तर दश वटा बैठकमा अनुपस्थित भएको खण्डमा सांसद नै खारेज हुने सम्मको व्यवस्था छ ।

यसो हुँदा समेत सांसदहरूको संसद बैठकमा उपस्थिति कमजोर देखिएको भन्दै सांसद खतिवडाले निरन्तर उपस्थित हुने सांसदको नाम समेत सदनमै सुनाउने प्रस्ताव गरेका हुन् । यसो गर्दा संसद बैठकमा सांसदहरूको उपस्थिति बलियो हुन सक्ने उनको विश्वास छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले समेत संसद बैठकमा सांसदहरूको उपस्थिति कमजोर भएको गुनासो गरेका थिए । यसतर्फ ख्याल गर्न उनले राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस