अपराधीलाई कुनैपनि हालतमा छोडिन्न : मन्त्री श्रेष्ठ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अपराधीलाई कुनैपनि हालतमा छोडिन्न : मन्त्री श्रेष्ठ


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कदम बाँकी नराख्ने बताएका छन् ।

आइतबार गृह मन्त्रालयले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले महिला हिंसा गर्ने पीडकलाई कारबाही गरिने बताएका हुन् ।

उनले भने, ‘ ‘म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, आजको लोकतान्त्रिक नेपालमा महिलामाथि हुने हिंसालाई अन्त्य गर्न र त्यसप्रकारको कुनै घटना देखापरे हिंसामा संलग्न अपराधीहरूलाई, पीडकहरूलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन । र गतकालका हिंसाका घटनाहरूलाई पनि त्यत्तिकै छोडिने छैन ।’

उनले महिला हिंसासम्बन्धी विगतका घटनाहरूको पनि अनुसन्धान गरिने र पीडितलाई न्याय दिइने बताए । अनुसन्धान गरी दोषी र अपराधीलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले हालसम्म प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्दै महिलाहरूलाई अझ अधिकार सम्पन्न बनाउन सरकारले प्रयत्न गर्ने पनि बताए ।

उनले भने, ‘सरकार महिलामाथि हुने सबै प्रकारको हिंसाको अन्त्य गर्न, हिंसाजन्य गतिविधिमा संलग्न वा अपराधमा संलग्नहरूलाई कानूनको दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न र महिलाहरूलाई अधिकार सम्पन्न बनाएर अहिलेसम्म महिला स्वयम् र सारा नेपाली जनताले मिलेर ल्याएको उपलब्धिहरूको रक्षा गर्दै त्यसलाई उन्नत बनाएर महिलाहरूलाई अझ बढी अधिकार सम्पन्न र उन्नत भूमिकामा ल्याउनको निम्ति सम्पूर्ण प्रयत्न सरकारको तर्फबाट गरिनेछ।’

मन्त्री श्रेष्ठले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लङ्घन र महिला हिंसाको घटनाहरूको समस्या समाधान गर्न आवश्यक नीति, निर्णय र कार्ययोजना बनाउन सरकार गम्भीर रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस