काठमाडौँ । डोल्पाका गाउँ गाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ। डोल्पाबाट परेका भ्रष्टाचारका उजुरीको स्थलगत अनुगमनका लागि अख्तियारको टोली जिल्लाका ग्रामीण गाउँबस्ती पुगेको हो।
सुर्खेतबाट गएको अख्तियारको टोलीले उजुरी परेका विकास योजनाको प्रारम्भिक तथा विस्तृत अध्ययन गरिरहेको एक अधिकृतले बताए । उनका अनुसार ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र से-फोक्सुन्डो गाउँपालिकाका मात्रै ३० योजनाको उजुरी परेको छ।
डोल्पोबुद्ध गाउँपालिकाबाट उजुरी शून्य रहे पनि अन्य स्थानीय तहबाट उल्लेख्य उजुरीहरू परेका छन्।
तल्लो डोल्पाको ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा औषधि खरिद, सामाजिक सुरक्षा भत्ता वितरण, विद्यालय भवन निर्माण, तटबन्धन र सार्वजनिक खरिदमा भ्रष्टाचार भएको पाइएको खत्रीले जानकारी दिए। डोल्पामा परेको सम्पूर्ण उजुरीबारे विस्तृतमा अध्ययन गरेर मात्र सुर्खेत फर्कने उनको भनाइ छ।







