नेपाल–भारत जमुनाहा सीमा नाका दुई दिन बन्द हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल–भारत जमुनाहा सीमा नाका दुई दिन बन्द हुने


१८ बैशाख २०८०, सोमबार


नेपालगञ्ज । नेपाल–भारत जमुनाहा सीमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो ।

मङ्गलवार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने जानकारी भारतीय सुरक्षा अधिकारीले दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले बताए । यसको जानकारी नेपाली सुरक्षा निकायलाई पनि हुने उनले उल्लेख गरे ।

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न लागिएको हो । त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्त गस्तीका लागि छलफल भएको छ ।

नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलताअनुसार काम गर्ने सहमति भएको छ । सीमा सिल गरिएको अवधिमा एम्बुलेन्स, बिहे जन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।

खुला सीमाका कारण अन्य नाकामा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

यसैगरी वैशाख १९ गतेबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमानाका बन्द हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस