मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा आज वर्षा र बेमौसमी हिमपात भएको छ । 

मुस्ताङको लोमान्थाङ, दामोदरकुण्ड लोघेकर, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका अधिकांश ठाउँमा हिमपात भएको हो । यहाँ वसन्त ऋतुमा बेमौसमी हिमपात भएको हो ।  

हिमपातले चिसो बढेको मुक्तिनाथ मन्दिरका कर्मचारी रविन सुवेदीले बताए । मुक्तिनाथमा दुई फिट बाक्लो हिउँ जमेको जनाइएको छ । वर्षाले मुक्तिनाथ मन्दिरमा आएका भक्तजनलाई पूजाआजा, दर्शन र स्नान गर्न समस्या परेको बताइएको छ ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजीवन प्रभावित भएको बताए । उनका अनुसार सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तु र भेडाच्याङग्रालाई चरन क्षेत्रमा लैजान नसक्दा आहराको समस्या भएको जनाइएको छ । 

म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाडा, घोडेपानीमा पनि हिउँ परेको छ । डाँडाहरू हिउँले सेताम्मे भएका र चिसो बढेको धवलागिरि-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । 

यसपालि पुस र माघमा हिमपात भएको थिएन । हिउँद सकिएपछि फागुनको पहिलो सातादेखि हिउँ पर्न थालेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस