भारतसँग विद्युत् व्यापारबारे विशेष सम्झौता गरिँदै  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतसँग विद्युत् व्यापारबारे विशेष सम्झौता गरिँदै 


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । विद्युत् व्यापारबारे नेपाल र भारतबीच विशेष सम्झौता गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा विद्युत् व्यापारका लागि दुई देशको सरकारीस्तरमै विशेष समझदारी गर्न तयारी थालिएको हो ।

प्रधानमन्त्री प्रचण्ड वैशाख अन्तिम सातातिर भारत भ्रमणमा जाने तयारीमा छन् । 

नेपाल र भारतले ४ कात्तिक, २०७१ मा ऊर्जा व्यापार सम्झौता (पीटीए) गरेका थिए । २५ वर्षका लागि भएको सो सम्झौतालाई छाता मानेर पूरक सम्झौताको तयारी भएको हो ।

नेपाल र भारतबीच विद्युत् व्यापारको सम्झौता भएका बेला नेपालले भारतमा विद्युत् निर्यात थालेको थिएन । नेपाल लोडसेडिङमा रहेकाले त्यतिबेला नेपालमा विद्युतको आयात बढाउनुपर्ने आवश्यकता थियो ।

अहिले अवस्था बदलिएको छ । नेपाललाई हिउँदमा भारतको बिजुली अत्यावश्यक रहेपनि वर्षायाममा नेपालले उत्पादनको झण्डै आधा बिजुली भारतलाई बेच्नुपर्ने अवस्था छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको आसन्न भ्रमणमा भारतसँग बिजुलीको बजार सुनिश्चित गर्ने गरी सम्झौता गर्न नेपालको प्रस्ताव छ । यसबारे अहिले आवश्यक तयारी र छलफल अघि बढ्ने बताइएको छ । 

भारतसँग हुन लागेको सम्झौताले भारतसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता गर्न र सरकारी तवरमै बिजुली किनबेचको संयन्त्र बनाउन सहज हुने विश्वास गरिएको छ । 

विद्युत् व्यापारका लागि स्थायी संयन्त्र बनाउन पनि भारतसँग प्रस्ताव गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस